ज्ञानमणि नेपाल, भोजपुर
कवि वैयाकरण उपाध्यायका कृतिहरुमा टक्सार वर्णन पनि एक हो । दुर्भाग्यवश सो ग्रन्थको लिखित प्रति मैले खोजी गर्दा कतै पाउन सकिनँ । सात-आठ वर्ष अघिसम्म पनि टक्सार वर्णनका सिलोक कण्ठै पढ्ने मानिस पाइँदै थिए । विवाहको जग्गेमा, अन्त प्रसङ्गमा अरु सिलोकका साथै यो मुखजावत पढेको सुनिदै थियो । विस्तार विस्तार यी सिलोकहरु आफ्ना गलामै मिलाई लिइराखेका ती विज्ञपुरुष पनि सिद्धिदै गइसकेछन्, सारेका लेखोट पनि सिलोकका हातहात हुँदै सर्दै गएर कतै लुकिरहेका छन् वा सकिए भन्न सकिदैन । यो टक्सारवणर्न मुखाग्रे भन्नेमा सिक्तेल विर्तावासी मु. विष्णुप्रसाद नेपाल र मेटेलीबजार (भारत) वासी धनबहादुर नेपाली दुइ पुरुष मात्र शेष रहेकामा पनि ज्यादै वृद्ध हुँदा उनीहरुको पनि पढे जानेको कुरा विस्मृतिको खाडलमा गाडिइसकेको रहेछ, उधिन्दा बल्ल-तल्ल उनीहरुका गलाबाट टुक्रा-टाक्री छेक्सा मात्र निकालन सकियो, सगल्ती यति चार ओटा सिलोक निक्लेका हुन् ।
टक्सारवर्णनको प्रसङ्गमा यहाँ अलिकति टक्सारको परिचय दिनु उचित होला । काठमाडौँबाट करिव ५० कोश पूर्वमा पू. ४ नं. भोजपुर जिल्ला पर्दछ । माझकिरात माल गोस्वारा अदालत हुलाक जेल ठाना अस्पतालहरु सदर भोगपुर बजारैमा रहेका छन् । भोजपुर बजारदेखि करिव एक पाउ दक्षिणमाटक्सार बजार रहेको छ । भोजपुरको र टक्सारको बीचमा एक हाई स्कूल स्थापना गरिएको छ ।
विं.सं. १८७२ मा श्री ५ गीर्वाणयुद्ध विक्रम शाहको पालामा प्रधान मन्त्री भीमसेन थापाका आदेश-अनुसार यस ठाउँमा पैसा काट्न भनेर टक्सार (टंकशाला) स्थापना भएको थियो । त्यस बेला सायद यो किरात प्रदेशका शासक सुब्बा कुलानन्द थिए । (उस बेलाका सुब्बा आज भोलिका वडा हाकिमभन्दा विशेष अधिकार सम्पन्न हुन्थे) सुब्बा कुलानन्द झाले वि.सं. १८८७ मा टक्सारको भीमसेन स्थानमा चढाएको एक घण्ट अद्यापि छदैँछ । यहाँ टक्सारको स्थापना भई यसैको जरियाबाट बजार बस्न गएकोले यस बजारको नाउँ टक्सार भन्ने नै रहन गयो । विशेष गरेर यसलाई बाँडागाउँ पनि भन्दछन् । बुद्धमार्गी कर्मिष्ट नेवार गुभाजु (वज्रचार्य) कहिन्छन्, कर्महीन बाँडा भनिन्छन् । बाँडैबाँडाको बस्ती भएर यो बाँडागाउँ भनिएको होइन । यहाँ बाँडा, उदास, श्रेष्ठ, तमोट, हलवाई आदि सबै थरका मानिसहरु बसोबास गरिरहेका छन् तापनि काँसा, ताँवा, पितल आदि धातुका भाँदा बर्तन बनाउने तिनको चल्ती फिर्तीको व्यवसाय नै यहाँका बासिन्दाको मुख्य पेशा भएको छ । भाँडा बनाउने डुलाउने जतिलाई (उदास, श्रेष्ठ, तमोट जुनसुकै होस्) यताका मानिसहरुले ‘बाँडा’ भनी एउटै बोलीले सम्बोधन गर्ने चलन गरेकाले नै यसको नाउँ बाँडागाउँ भनी प्रसिद्ध भएको हो ।
बाँडागाउँ वा टक्सारबजार नेपालको पूर्वी पहाडी इलाकामा एक प्रसिद्ध सुन्दर शहर हो । यो सुन्दर प्रसिद्ध हुनामा पहिलो कारण त यसको प्राकृतिक सम्पत्ति पनि हो । यो ठाउँ व्याँसी औलो लाग्ने ठाउँमा पर्दछ, न त उच्च शिखर ज्यादा ठण्डीमा । बीच कछाडमा यो शहर रहेकाले यसको जलवायु उत्तम छ । माथितिर भित्ताको सल्लेरी घारीको स्वास्थ्यप्रद हावा तलतिर मिलेको धान खेत, बीच-बीचमा रहेका कलापूणर् देवमन्दिरहरु र तीनधाराको दृश्य यस बजारका आकर्षक चीजमा मुख्य हुन् । तीनधाराको मूलपानी स्वच्छ स्वास्थ्यप्रद छ । धाराको सुन्दर बनावटको दृश्यलाई देखेर मुग्ध हुनुभएको कविले ‘नारान्हिटीकै सरी’ भन्दै राजदरवारको हिटीसँग यसको तुलना गर्नुभएको छ ।
पन्ध्र-बीस वर्ष-अगाडिसम्म पनि यो टक्सार बजारको चल्ती प्रशस्त मात्रामा थियो । साँच्चै नेपालको पूर्वी पहाडी प्रदेशमा यत्तिको चल्तीको राम्रो शहर अर्को थिएन । ओखलढुङ्गा, चेनपुरदेखिका मानिस बजार भर्न यहाँ आउँथे । टाढा-टाढादेखिका मानिसहरु आवश्यक माल-सामान खरीद-बिक्री गर्न यहाँ जम्मा हुन्थे । पर्व-पर्वमा यहाँ लाखेजात्रा, भीमसेनजात्रा, गाईजात्रा आदि जात्रा उत्सव हुने र बेला मौकामा कृष्णलीला आदि नाटक पनि देखाइने हुँदा ग्रामीण जनताको यो शहर विशेष आकर्षक थियो । यहाँका वासिन्दाको मुख्य व्यवसाय भाँडा बनाउने भएकाले जताततै भाँडा कुटेको टङ्ग-टङ्ग-टङ्ग आवाजले बजारै गुञ्जायमान भइरहन्थ्यो । यहाँका मानिसको लवाइ खुवाइ प्रायः सफा सुन्दर नै हुने हुँदा र चित्रकला शिल्पकलाले पनि गर्दा शहर निकै चमक लाग्दो हुन्थ्यो । शहरको यस्तो चहल-पहल आफ्नो आँखाको सामू दिनहुँ देख्ता कविको मनमा यो शहरको वणर्न गर्ने लहड उठ्नु स्वाभाविक छ । चतुर्मासामा पुराण भन्न बाँडागाउँमा बसेको बेलामा पंं.वैयाकरण उपाध्यायले यी कविता रचना गर्नुभएको रहेछ । तर कविता कुन सालमा रचना गरिएका हुन्, त्यसको टुङ्गो लाउन सकिएको छैन, यो पुस्तक सम्पूणर् प्रकाशमा आएमा टक्सारको विषयमा केही कुरा जान्न सकिन्छ ,
टक्सार वणर्न
पर्वत्का बिचमा अती तखतको कीरात मध्ये महाँ बन्याको रमणीय सुन्दर खिकामाछा भन्याको जहाँ । लक्ष्मीको तहि दृष्टि पर्न जब गो बस्नु असल हो भनी इच्छा श्रीमहाराजको हुन गयो अड्डा बसाऊँ भनी ।।
विक्रम् संवतका अठार सयको साल् भो बहत्तर् यहाँ पैसा काट्न भनेर श्रीनृपतिले टक्सार बनाया तहाँ । टक्सार बन्न गयो जसै त बनियाँ आया अनेक् फेर अरु बेपार् गर्न भनी रकम्-रकमका आया महाजन्हरु ।।
बनाया सबले तहाँ खुसि भई घर् धेर एक् लङ् गरी गल्ली माझामहाँ अलग्-बगलमा दोकान् दोहारा धरी । देश्-देशको चिज ल्याइ बिक्री गरन्या सारा बजारैमहाँ भाँडा-बर्तनमा सिपालु अति वेस् धेर् कालिगड् छन् तहाँ ।।
काँसाका डबका पाउने कती ढल्लोट् कमाउने कति कत्ती काँसाका डबका बनाउने कती ढल्लोट् बनाउने कति । कत्ती रङ-रङका बुटा जडनमा साहै्र सिपालू अति
काँसो पित्तल धेरै कमाइ घर-घर् भाँडा हजारौँ थरी टङ टङ टङ टङ शब्द हुन्छ दिन-दिन् सारा बजारै भरी । पक्की ईट गरी गारो वरिपरी धारा तिनोटा धरी हेर्दामा पनि ठीक् दुरुस्त उहि हो नारान्हिटीकै सरी ।।
सत्तल् बन्न गयो उसै बगलमा आएर जात्रूहरु बस्छन् खूसि भएर त्ेस् सतलमा तेस्को बयान् क्या गरुँ ।
द्वीपादन्यास्मादपि मध्यादपि जलनिधेर्दिशोप्यन्तात् आनीय झटिति घटयति विधिरभिमतमूखीभूतः ।।
वि.संं २००७ साल यता यस शहरको उस्तो चहल-पहल हराउँदै गएको छ । यसको पहिलो कारण त यहाँका धनि जति धनको सुरक्षाको दृष्टिले र आफ्नो व्यवसायको विशाल क्षेत्र बनाउने हेतुले पनि आफ्नो व्यवसायको विशाल क्षेत्र बनाउने हेतुले पनि आफ्नो धन धरान विराटनगर हुँदै लाउन लागे । धन बिना प्रशस्त माल नहुने हुँदा यहाँका ज्यामीको व्यवसाय ढिलो हुँदै गयो , ग्रामीण जनले पनि अब व्यापारबाट हुने फाइदालाई राम्ररी बुझ्दै गाउँ-गाउँमै राखेकाले यस बजारमा जम्मा हुने धनको अर्को स्रोत पनि बन्द भयो ।
७ सालपछि प्रशस्त सभा सम्मेलन भाषण जुलुस हुन लागेकाले यतैपट्टि मानिसहरुको ध्यान आकृष्ट भई राजनीति-पार्टीमा नै विशेष गरेर मानिसको खेद्नने प्रवृत्ति भएकाले र विदेशी सभ्यताले आँखा तिरमिराउन लाग्दा आफ्नो भएको कला कृतिहरुमा अनास्था घृणा हुन जाँदा सो साकार हुँदै जानुको सट्टा बिलाउन लाग्यो । यहाँका मानिसको पनि अर्कैपट्टि ध्याउन्न हुँदा भएको कलाकृतिले विकास हुने अवसर पाएन । टक्सारको यस्तो बिग्रदै गएको स्थिति देखि यसैको विकास गर्ने हेतुले १३ सालमा श्री ५ को आगमन हुँदा टक्सारमा ‘महेन्द्र पार्क’ बनाउने योजना भएको थियो । श्री ५ को सरकारबाट स्वीकृति भएकोमा पनि आजतक सो बन्न सकेको छैन । अब भविष्यमा भने जस्तो महेन्द्र पार्क बन्न गयो, यहाँको कला कृतिको सरकार हुँदै गयो, खुलेको घरेलु उद्योग तालिम केन्द्रले आफ्नो कामको राम्रो प्रगति गर्दैै रह्यो, अपील अड्डाको स्थापना स्थायी रह्यो, नगरपालिका रही शहरको सफाइ प्रबन्ध भयो भने अवश्य टक्सार बजारले पहिलेको चल्ती कायम गर्छ अझ विकासको बाटोमा अग्रसर हुँदै जाने आशा गर्न सकिन्छ ।
(साभार, पुराना कविता (वैयाकरण उपाध्यायको कबिता, सं. ज्ञानमणि नेपाल, भोजपुर, नेपाल इतिहास विकास समिति, वि.सं. २०१८, पृ.५६-६०)