श्री ७ सूर्यविनायक गणेश, टक्सार

Total
0
Shares

दिल बहादुर शाक्य
तानसेन,पाल्पा

ऐतिहासिक तथ्य

   नेपालको पश्चिमी जिल्ला पाल्पाको सदरमुकाम तानसेनको टक्सार टोल स्थित विख्यात श्री ७ सूर्यविनायक गणेशको स्थापना २०० वर्षभन्दा पहिले नै भएको अनुमान पुरातत्वविद्हरुले गरेका छन् । पुरानो कथन र भनाइ अनुसार २०० वर्ष भन्दा पहिले टक्सार टोलमा एउटा मसला पिस्ने सिलौटा पाइएको थियो त्यस सिलौटामा मसला पिस्दा मुसा (छुचुन्द्रो) कराएको आवाज आयो । पिस्न छोड्दा आवाज बन्द हुने र फेरि पिस्दा बारम्बार त्यस्तै आवाज आउने हुँदा यताउता हेर्दा मुसा नदेखिएपछि त्यो सिलौटालाई पल्टाएर हेर्दा गणेशको आकृति पाइयो। तत्पश्चात स्थानीय बासिन्दाको सक्रियतामा त्यही सिलौटालाई दूध, पानीले धोएर हाल गणेश मन्दिर भएको ठाउंमा पूर्व मुख पारेर श्री सूर्यविनायक गणेशको नामले वि.सं. १८६७ नेपाल सम्बत् ९३० (इ.स १८१०) मा वैशाख शुक्लपक्ष अक्षय तृतीयाका दिन स्थापित गरिएको थियो ।

मन्दिर निर्माण र ठूलो घण्ट
गणेशको स्थापना गरिएपछि खरको छाना राखेर सानी मन्दिरको रूप दिइयो । त्यस मन्दिर निमाणर्को करिब ४३-४४ वर्षपछि शाक्य संवत् १७७५ नेपाल संवत् ९७३ (वि.सं. (१९९०) भाद्र बदी ४ रोज २ मा ४१ जना व्यक्तिहरुले मन्दिर बाहिर गणेश भगवानलाई बढाएको ठूलो घण्टमा उल्लेख छ जुन घण्ट हालसम्म पनि मन्दिर बाहिर छन् र बजाउँदा घण्टको तिखो र मीठो आवाजको गुल्जन सुन्न सकिन्छ ।

आगलागी (दैवी) घटना
तानसेनमा ३ पटक आगलागी भएको थियो।
पहिलो पटक (विसं १९१८ भन्दा पछि) आगलागी हुँदा मन्दिरको खरको छाना सबै जलेर नष्ट भएपछि वि.स. १९४०-४१ मा पित्तलको छाना सहितको मजबुत मन्दिर पुनःनिर्माण गरिएको थियो । पित्तलको छानाको ४ कुनामा राखिएको कुम्पामा (कुनापाता) वि.सं. १९४१ आश्विन सुदी १५ रोज ७ मा पाटन वक्वु वाहलका कायस्थमान बीर सिंहका जेष्ठ सुपुत्र हवलदार जीत बहादुरले चढाएको भन्ने अंकित छ। गणेश मूर्तिको दाया बाया राखिएको ढलोट पित्तलको जोडा झण्डा (ध्वजा) वि.स. १९४१ आषाढ वदी १३ रोज ७ मा सुवेदार हरिसुन्दर र बुद्धिमान, रतनमान, जगतमानले चढाउनु भएको थियो। पहिले आगलागी हुँदा १९१८ सालमा धिर्ज लाख्याले चढाएको मन्दिर भित्र झुण्डयाइएको घण्टी पनि जलेर नष्ट भएपछि त्यस्तै अर्को घण्टी बनाई १९४१ साल कार्तिक सुदी रोज ३ मा कुलमानले चढाउनु भएको थियो ।

दोस्रो पटक आगलागी सिलखान टोल तल बारुदखानबाट सुरु भई हुरी र तीव्र हावाको वेग गर्दा आगो फैलिएर एक्कासि गोपीटोल (बसन्तपुर टोल) मा आगोले समात्न पुगेको थियो । तर ती दुई टोलहरु बीच पर्ने टक्सार टील, भनिन्छ – गणेशको शक्ति र प्रभावल आगोले छुन सकेन र सुरक्षित रहेको थियो। बुढापाकाको कथन र भनाइ अनुसार गैराबारी पोतेगाल (हाल गौरीशंकर गेष्टहाउस अगाडि) सतो गणेशको आकृति जस्तो पर्खालको रूपमा उभिएको थियो रे। जे भए तापनि टक्सार टोल आगोबाट सुरक्षित हुनु अचम्म कुरा थियो । टक्सारको रक्षा स्वय गणेश भगवान्ले नै गरेको हो भन्ने विश्वासले गणेशको शक्ति र महिमा चारैतिर फैलियो। फलस्वरुप त्यो सिलौटाको मूर्ति ढाकेर बाहिरबाट शुद्ध तामाको गणेश मूर्ति बनाई स्थापित गरिएको थियो जसको तलपट्टि शाक्य सम्वन १७३२ नेपाल सम्बत ९३० वैशाख सुदी ३ मा स्थापना भएको अंकित छ भनिन्छ ।

तेस्रो पटक वि. स. १९६५ सालमा आगलागी हुँदा टक्सारका प्राय खरको छाना भएको घर सबै जन्नका साथै गणेशयात्रा गर्न काठको रथ, मन्दिरको छाना र सुनको जलप लगाएको गजूर सबै आगोले जलेर सुन पग्लेर नष्ट भएको थियो।

मन्दिरको कलात्मक ढोका
मन्दिरको काठको ढोका पनि सबै जलेर नष्ट भएपछि टक्सारका कुशल कारिगरहरूद्वारा टक्सारमा नै ढलोट धातुको टुका-टुका रूपमा ढालेर सिंगो आकर्षक र कलात्मक ढोका निर्माण गरेर वि.सं. १९६९ साल भाद्र बंदी ४ रोज ७ मा श्री सूर्यविनायकलाई पिता वैद्य जीतमानका नाममा पुत्र तिलकमान (थैव) ले चढाएको ढोकामा उल्लेख गरिएको छ। यस मन्दिरको प्रवेश मूल ढोका पर्यटकहरुको लागि आकर्षण र निकै कलात्मक छ टक्सार टोलका कुशल र दक्ष कारिगरहरुद्वारा पित्तल र ढलोटबाट निर्मित यस ढोका तानसेनमै अनुपम नमुनाको छ। ढोका माथिको छेपु पनि त्यतिकै आकर्षक र कलात्मक छ । त्यसको विचमा ५ वटा टाउको माथि तल दाया बाया जोडिएको, दश वटा हात भएको छ जसलाई हेरम्ब गणेश भनिन्छ बौद्ध बज्रयानीहरुले पूजाआजा गरिने चलन छ ।

ढलोट गणेश मूर्ति
वर्तमानमा भएको ढलोट धातुको उभिएको गणेश मुती त्यो तामा मूर्तिको अगाडि पट्टि पुन, वि.सं. १९७० साल वैशाव सुदी ३ रोज ६ मा स्थापित गरिएको हो । तानसेन टक्सारका सिपालु कारिगर कृष्णलाल र सुर्ज्यलाल शाक्यद्वारा बनाइएको उक्त मूर्ति र दाया बायाँ माथिको तोरण छेप वि.सं. १९७० साल मै धन सुन्दर धनलक्ष्मीले गणेश भगवान् लाई चढाउनु भएको थियो। गणेश मूर्ति दायाँ बायाँको सिंह जोड़ा आसामदु, सूर्य बहादुरले वि.सं. १९४६ वैशाख सुदी ३ रोज ६ मा चढाउनु भएको थियो भने मूर्ति अगाडिको सानो छुचुन्द्रो जोडा गुठी नाइके श्री हर्षमानले वि.सं. १९५३ साल सुदी १० रोज ७ मा ठूलो छुचुन्द्रो जोड़ा वि.सं. १९७७ साल वैशाख सुदी ५ रोज ६ मा चढाउनु भएको थियो ।

पञ्च झुप्पा घण्टी
मन्दिर भित्र झुन्ड्याइएको पाँच वटा घण्टीको झुप्पा घण्टीमा जुजुधन गुभाजु पुत्र कनकमान, उजिर बहादुर छोरा जीत बहादुर नाति समेतले चढाएको भन्ने उल्लेख गरिएको छ।

गणेश रथयात्रा
गणेशको जन्म भएको दिन भाद्र शुक्लपक्ष चतुर्थी (गणेश चतुर्थी) भए तापनि टक्सारमा प्रत्येक वर्ष गणेशको रथयात्रा भाद्र कृष्णपक्ष चतुर्थीका दिन भव्यताका साथ गरिन्छ। गणेश रथयात्रा कहिलेदेखि प्रारम्भ भएको हो भन्ने यकिन तथ्य र प्रमाण पाउन नसकिए पनि दोश्रो पटकको आगलागी पश्चात् रथयात्रा प्रारम्भ गरेको अनुमान गर्न सकिन्छ । हालसम्म पनि रथमा राखिने ढलोट धातुको गणेश वि. १९६४ साल जेष्ठ शुक्ल ४ रोज ७ मा देवमान राजमान, रतनमानले चढाउन भएको प्रमाण छ। तेश्रो पटक १९६५ सालमा आगलागी हुँदा गणेश यात्राको काठको रथ सबै जलेकोले वि.स. १९६५ सालमा नै पुनः अर्को रथ बनाएर भाद्र वदी रोज ७ मा नारायण टोल बस्ने तहवीदार, बुद्धिमान, सुर्ज्यमान, मोतीमान श्रेष्ठ (वैस्यत) ले चढाउन भएको थियो जुन रथमा हालसम्म पनि गणेश रथयात्रा गरिन्छ । यस श्री ७ सूर्यविनायक गणेशको २ शत वार्षिक (२०० वर्ष) स्थापना भएको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम राखी बडो धुमधामका साथ रथयात्रामा २०६७ साल भाद्र १२ गते गरिएको थियो । गणेश रथयात्राका लागि तानसेन गुठी, काठमाण्डौले मूतेन्द्र -मोहनमाया र गृह-गीता अक्षयकोषको व्याज २०६८ सालदेखि रु. १,५७२ – आर्थिक सहयोग दिई आएकोमा गत वर्षदेखि रु.२,५७२।- सहयोग दिने गरेको छ । टक्सारका सक्रिय युवा सुरज बौद्धाचार्यले श्रद्धालु व्यक्तिहरुबाट रु.१,३६, २७२- नगद संकलन गरी श्री ७ सूर्यविनायक गणेश जात्रा अक्षयकोष स्थापना गरिएको छ।

गणेशको नित्य पूजा
गणेश स्थापना भएदेखि नै बिहान – साँझ दीप बालेर चंवर हम्केर नित्य पूजा गरिदै आएको छ । मानकाजी गुभाजूबाट पूजा गर्दै आएर हाल निजका नाति कृष्ण बहादुर बजाचार्यले उक्त नित्य पूजाको जिम्मा लिई आएका छन् । पूजा गर्ने पञ्चपात्र सेट वि.सं. १९८१ साल भाद्र वदी ३ मा तेजमुनि र चन्द्रमुनिले चढाउनु भएको हो । नित्य पूजा बाहेक शान्ति पूजा, भजन पूजा, वार्षिक पूजा, गुठी पूजा र भाकलपूजा पनि गरिन्छ ।

गणेश भजन
हालको गणेश गुठीले गर्दै आएको डाफा भजन कहिलेबाट गर्न थालिएको भन्ने तथ्य फेला पार्न नसके पनि लगभग १६२ वर्ष पहिले घण्टा चढाएपछि भजनको पनि सुरुवात भएको हुन सक्ने भनाइ छ । १९६५ सालको आगलागीमा भजन किताब जलेर नष्ट भएपछि फेरि वि.स. १९८० श्रावन वदी १४ रोज ७ मा हस्तलिखित भजन किताब तयार गरिएको थियो ।
मन्दिरको जीणर्ोद्धार
यस गणेश मन्दिर जीणर्, चुहिने, काठहरु कुहिएको, मक्किएको हुनाले जीणर्ोद्धार गर्नुपर्ने अति आवश्यक भयो। त्यसैले नेपाल सरकार पुरातत्व विभाग राष्ट्रिय अभिलेखालय काठमाडौंमा निवेदन गरे अनुसार पुरातत्व विभागका वरिष्ठ रसायन विद् श्री गृहमान सिंहको सहयोगमा रु. २ लाख मर्मत र जीणर्ोद्धारका लागि स्वीकृत भएपछि दिल बहादुर शाक्यको प्रयास र सक्रियतामा बाँकी नपुग रकम स्थानीय जनसहभागिताबाट जुटाई ललितपुर, बुंगमतीका विशेषज्ञ कारिगरहरु भिकाएर गणेश मन्दिर जीणर्ोद्वार मर्मत कार्य मिति २०६६/०२/०५ गते मंगलबारका दिन प्रारम्भ भयो । मन्दिरको माथिल्लो तला भत्काई सबै सालको काठ फेर्ने र नयाँ पित्तल पाता राखेर छाना फेर्ने कार्य भयो । मन्दिरको पहिलेको उचाइ भन्दा २ फिट अग्लो गणेश मन्दिर करिब रु ५ लाख लागतमा मिति २०६६/०५/२५ मा निर्माण कार्य सम्पन्न भयो । छाना माथिको ३.५ फिट अग्लो गजूरमा सुनको जलप लगाउन २ टोला सुन, विशेषज्ञ कारिगर, वरिपरि ७० फिट पित्तलको झल्लर पाता र अगाडि मयूर झयाल, दाया बायाँ आँखी झ्याल राख्न आवश्यक खर्च सबै तानसेन गुठी, काठमाडौं र गुठी संयोजक गृहमान सिंह मार्फत गुठी सदस्यज्यूहरुले आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।

श्री ७ सूर्यविनायक गणेश
महिमा यस श्री ७ सूर्यविनायक गणेशलाई प्रतीकको रूपमा लिइन्छ । बच्चाको बोली स्पष्ट भएन, ढिलो बोल्ने भएमा गणेशको पूजाको बालबालिका प्रिय भएको सिद्धि र सफलता “गोजा“ प्रसाद खान दिएमा बोली फुट्ने, बोली स्पष्ट हुने बोल्ने विश्वास गरिन्छ साथै दाम्पत्य जीवन सफलताका लागि र विद्यार्थीहरू परीक्षामा सफल हुनका लागि पनि गणेशको आशीर्वाद लिएमा सफल हुनेमा विश्वास गरिन्छ । अन्तमा श्री गणेश शुद्ध फलफूल भोजन गर्ने देवता हो । त्यसकारण गणेश मन्दिरमा भोग र बलि चढाउन हुँदैन तर अज्ञानताका कारणले यस मन्दिरमा बलि दिने प्रथा थियो । अहिले यो प्रथा रोक्नु पर्दछ । गणेशको प्रिय भोजन लड्डू र फलफूल राखेर चोखो शुद्ध पूजाबाट मात्र सिद्धि र सफलता प्राप्त हुन्छ भन्ने धारणा रहेको छ ।

Leave a Reply

Sign Up for Our Newsletters

Get notified of the best deals on our WordPress themes.

You May Also Like

Mul Dhoka

The Mul Dhoka (Main Gate) or Baggi Dhoka (gate for horse drawn carriage), as the locals call it is probably the only one of this size and dimension in Nepal.…
View Post
Palpa Khayaha

पाल्पामा नेवारहरूको आगमन

निर्मल श्रेष्ठ नेवार भन्ने बित्तिकै मिलनसार, मिहिनेती र सरल मिजासका जातिको झझल्को मानस पटलमा आउने गर्छ । देख्दा फरासिला र हँसिला देखिने नेवारहरू मिहिनेती र मिलनसार पनि उत्ति नै हुन्छन्…
View Post