Palpa Khayaha

पाल्पामा नेवारहरूको आगमन

Total
0
Shares

निर्मल श्रेष्ठ

नेवार भन्ने बित्तिकै मिलनसार, मिहिनेती र सरल मिजासका जातिको झझल्को मानस पटलमा आउने गर्छ । देख्दा फरासिला र हँसिला देखिने नेवारहरू मिहिनेती र मिलनसार पनि उत्ति नै हुन्छन् । उच्च वर्गका नेवारहरूको आफूहरू भारतबाट आएको भन्ने ठम्याइ छ, केहीले नेवारहरू उत्तर पूर्वतिरबाट आएका मान्दछन् भने कसैले नायर भन्ने ठाउँ, जुन अहिले केरलामा पर्दछ त्यहाँबाट आएका हुन् भन्ने गर्दछन् । नेवार जातिभित्र रहेका हिन्दुहरूले आफूलाई तिब्बेटो-बर्मिज समूहका बुद्धिष्टभन्दा उच्च मान्ने गर्दछन् । तर ती अधिकांश बुद्धिष्टहरू हिन्दु शासकहरूको पालामा हिन्दु भएका थिए । नायर विचारसँग जोडिएका नेवारहरूले नेवारहरू नायरसँग नजिक रहेको ठान्दछन् । इतिहासकारहरू भाषागत रूपमा तर्क गर्ने गर्दछन् कि नेवार भाषा तिब्बेटो-बर्मीजबाट उत्पत्ति भएको हो भन्ने गर्छन् । यसकारणले नेवारहरूको आगमन उत्तरतिरबाट भएको हो भन्ने मान्यता छ ।

तर नेपाल भाषा धेरै अंशमा संस्कृत भाषाबाट प्रभावित छ । साथै नेवारी पुराना शब्दहरू तिब्बेटियन भाषाबाट भन्दा प्राचीन उत्तरी भारतको कुटिल लिपिबाट आएको देखिन्छ । यी जति पनि छलफलका विषय रहँदा रहँदै पनि नेवारहरूको उद्गम स्थल भने काठमाडौं खाल्डोलाई नै मानिन्छ (Haaland, A.D. 1985, page 15) । नेवारहरू देशभित्र विभिन्न ठाउँमा लगायत सिक्किम, दार्जिलिङ्ग, भुटान, आसाम, बर्मा आदि देशबाहिरका ठाउँहरूमा आफ्नै मौलिक पहिचान बोकी पुखौंदेखि बसोबास गर्दै आएका छन् ।

नेवारहरू मन्दिरका टुँडालहरूमा भेटिन्छन्, डाफा भजनमा भेटिन्छन्, हटियामा भेटिन्छन्, बेलविवाहमा भेटिन्छन्, धिमे बाजाको नादमा भेटिन्छन् । जात्रा पर्वहरूमा भेटिन्छन् । यसरी आफ्नो मौलिक संस्कृतिलाई ज्यूँका त्यूँराखी आफ्नो पहिचानलाई कायम राख्दै काठमाडौं खाल्डोबाट त्यति बेला यातायातमा सुविधा नहुँदा पनि खोलानाला तरेर डाँडाकाँडा छिचोल्दै नेपालका विभिन्न ठाउँमा कसरी पुगे होलान् अचम्म लाग्दो छ । त्यो बेला विभिन्न प्रतिकूल परिस्थितिका विपरीत पनि यी नेवारहरू देशका विभिन्न ठाउँमा पुगी आफ्नो कला कौशल, संस्कृति, रीति-रिवाज, भाषा, भेषलाई ज्यूँकात्यु राख्दै आउनु मार्केबल कुरा हो ।

अहिले नेपालमा यातायातको जे जस्तो सुविधा छ त्यसले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र हिमालको फेदीदेखि चुरेको तलहट्टीसम्म कुर्चा खाएर भएपनि एकै दिनमा छिचोल्न सकिन्छ । यातायातको विकाससँग मिक्स सोसाइटी भएका ठाउँहरूको विकास भएको छ यी ठाउँहरूमा नेवारहरूको बाकुलो उपस्थिति रहेको छ । अहिलेको परिवेशमा सबैको आकर्षणको केन्द्र रहेको काठमाडौं खाल्डोबाट के कति कारण र कुन समयमा नेवारहरले अन्यत्र बसाई सरे भन्ने सन्दर्भमा इतिहासका पानाहरू पल्टायौ भने नेपाल सम्वत् ७८३ मा प्रताप मल्लको पालामा शत्रुहरूद्वारा भक्तपुरलाई चारैतिरबाट घेरी नाकाबन्दी गरिदिए । भक्तपुरमा खाना खान नपाई बहुतै दुःख पाई धेरै मानिस मरे। शहरवासीहरू खान नपाई सिंगार गर्न समर्थ नभई स्त्रीहरू कोही गर्भाधान भएनन् । मर्ने सिवाय जन्मने कोही भएनन् । कोही मानिसहरू राति शहर छोडी जिउको माया मारी निस्की परदेश भागी गए भन्ने भाषावंशावलीमा उल्लेख भएको छ लम्साल, २०२३, पृ. ६७ ६८) यसैगरी सोही भाषावंशावलीमा नेपाल सम्वत् ८३९ चैत्र महिनामा नेपाल खाल्डोमा महामारी फैलिन गई दिनमा सय दुईसय जना मर्दाको भयले प्रजाहरू वाही त्राही भई शहर छोडी भागी गए भन्ने उल्लेख रहेको छ (लम्साल, २०२३, पृ.१०२,१०३) । यसरी रोग व्याध, बाहिरी आक्रमण, अनिकालजस्ता विषम परिस्थितिले नेवारहरू काठमाडौं खाल्डोबाट बाहिरिएको देखिन्छ । राम शाहको पालामा काठमाडौंजस्तै गोर्खालाई पनि गुल्जार गर्ने उद्देश्य राखी नेवार जातिमा भएको टिपिकल कलाकौशल र व्यापारिक सीपलाई गोर्खामा पनि प्रस्तुत गर्न नेवारहरूका केही परिवार गोर्खा ल्याएका थिए (पांडे, २०४४, पृष्ठ १४१) । यसैगरी चौबीसे राज्य ल्याइएको थियो (Blaikie, A.D. 1980) ।

राज्यविस्तार अभियानमा प्रशासनलाई सुचारु रूपले चलाउन र हातहतियार साथै अन्य सैन्य बन्दोबस्तीका सामानहरू ठाउँठाउँमा पुयाउने उद्देश्य राखी टिस्टादेखि कांगडासम्म बाटो निर्माण गरिएको थियो, जसलाई हुलाकी बाटो भन्ने गरिन्थ्यो । पछि सुगौली सन्धि हुँदा नेपाल पूर्वमा मेची र पश्चिममा महाकाली नदीभित्र पिरुङ्गिएपछि उक्त बाटो पनि मेचीदेखि महाकाली नदीसम्मखुम्चिएको थियो । सो बाटालाई मूल बाटो वा हुलाकी बाटो भनेर पछिसम्म भन्ने गरिन्थ्यो । पूर्वबाट पश्चिमसम्म नागवेली पर्दै पहाडहरूलाई छिचोल्दै हानिएको सो मूल बाटोसंगै दक्षिणबाट उत्तरतिर जोड्नेव्यापारिक कच्ची बाटाहरू पनि थिए । त्यसबखत बाटो हिँड्ने यात्रुहरू र हुलाकीहरूको सुविस्ताका लागि सरकारी र व्यक्तिगत तवरले नाका नाकामा पाटी, पौवा, ठाटी बनेका थिए ती पाटी, पौवा, ठाँटीहरूमा काष्ठकलाका बेजोड नमुना खामिएका हुन्थे । झ्याल, ढोका, थामहरूमा हात्ती, घोडा र देवीदेवताका मूर्तिहरू कुँदिएका हुन्थे । खास गरेर ती पाटी, पौवा, ठाँटीहरू बनाउन काठमाडौं खाल्डोका नेवार कालीगढहरू ल्याइन्थे । त्यही समयदेखि नेवारहरू पहाडतिर फिजिएका थिए । साथै उन्नाइसौं शताब्दीको आधाआधीतिर बुटवल इन्ट्रो पट ट्रेडको रूपमा विकास भएसंगै तानसेन, पोखरा र बन्दीपुरजस्ता पहाडी शहरहरूमा नेवार व्यापारी र साना उद्योगीहरू काठमाडौं खाल्डाबाट आएको पाइन्छ ।

पाल्पामा नेवारहरूको आगमनकोसन्दर्भमा काठमाडौं खाल्डोबाट नेवारहरू पाल्पामा आउने क्रम सेनकालदेखि नै भएको देखिन्छ भाषा वंशावलीमा उल्लेख भए अनुसार नेपाल सम्वत् ६२२ तिर रत्न मल्लको पालामा कुकु नामका भोटे देवान आदि भोटेहरू धेरै आई दुःख दिँदा पाल्पाली सेन राजाका गुरु तिरौहतिया चार ब्राह्मणहरूलाई पाल्पा पठाई सेन राजाहरूसंग सैनिक सहयोग लिई भोटेहरूलाई मारेको उल्लेख छ (लम्साल, २०२३, पृष्ठ ५२) यस प्रसंगले काठमाडौं खाल्डाका मल्ल राजाहरू र पाल्पाली सेनराजाहरूको सम्बन्ध राम्रो भएको देखिन्छ । त्यति बेलादेखिनै नेवारहरू व्यापार, व्यवसाय र निर्माण कार्यका लागि पाल्पा आएका थिए भन्ने कुरा हालको पाल्पा जिल्लासाविकको भैरवस्थान कास्कीमा पनि १७५२ तिर काठमाडौंको छाँटको इंटको गा.वि.स. र सेरोफेरोमा देखिने नेवारी शैलीका घरका झ् घर बनाउन र व्यापारका लागि नेवारहरूलाई कास्कीमा याल, ढोका, थामहरूमा कुँदिएका काष्ठकलाका बेजोड नमुनाबाट पुष्टि हुन्छ भने पाल्पामा हालसम्म जीवन्त रहेको नेवारी संस्कृति, रीति-रिवाज, भेषभूषा, खानपानले पनि थप पुष्टि गर्छ ।

पाल्पामा सेनकालदेखि नै नेवारहरूको उपस्थिति रहेको सन्दर्भमामहादत्तसेनले आफ्नो शासनकालमा श्रीनगर शहर (हालको तानसेन) स्थापना गरी सेनराज्यको राजधानी पाल्पा पूर्णाकोटबाट तानसेनमा सारेका थिए । सो शहर बसालेको उल्लेख भएको शिलालेख जुन हालको टुडिखेलमुनि सेन माध्यमिक विद्यालयको बगलमा रहेको बटुक भैरव मन्दिरभित्र रहेको छ, त्यस शिलालेखमा केही नेवारहरूको नाम उत्कीर्ण गरिएको छ । यस कुराले पनि नेवारहरूको बसोबास पाल्पामा सेनकालदेखि भएको पुष्टि हुन्छ ।

काठमाडौंबाट पृथ्वीपाल सेनले मिति फसली सन् १२११ (वि.सं. १८६०) मा पाल्पा सामाकोट टक्सारका विष्णु महाजन र बौझगरी महाजनलाई टक्सार चलाउनु भनी लेखेको पत्रले टक्सार चलाउने कार्य नेवारबाट हुने र सो ठाउँमा नेवारहरूको बसोबास रहेको देखिन्छ (नाथ, २०२२, पृष्ठ ६०८) । सोही गा.वि.स. मा रहेको भीमसेन मन्दिरको घण्टमा लेखिएको यी हरफहरू ‘स्वस्ति श्री सम्वत् १८६४ साल मिति पौष बदि १३ रोज ७ दथु टोलको भजन गर्ने भाइले यो घण्ट श्री ५ भीमसेन प्रति समर्पण थामी शुभम् ॥’ ले पाल्पामा नेवारहरूको आगमन सम्बत् १८६४ साल भन्दा पहिलेदेखि नै भएको देखिन्छ ।

यसै गरी पाल्पामा बसिआएका नेवारहरूको गुठीका ढड्डाहरूमा उल्लिखित मितिहरूले सेनकाल र राज्यविस्तारका क्रममा सरकारी सेवा र व्यापारको सिलसिलामा पाल्पामा नेवारहरूको आगमन भएको देखिन्छ । सहश्ररामका सन्तान सेठहरू प्रधानहरूको वंशावलीमा यिनीहरू पाल्पा आएको वि.सं. १८७२ साल उल्लेख छ । पाल्पाराज्य नेपाल अधिराज्यमा विलय भएपछि हालको तानसेन पाल्पाको प्रशासनिक केन्द्रका रूपमा विकसित हुन गयो । वि.सं. १८८६ साल मिति आश्विन सुदि ४ रोज ६ को बख्तावरसिंह थापाको पालामा चौधरी अमालीले घर पजनी नगर्न, आफ्नो षातिम संग पक्का घर बनाई फिंगटी लगाई बजार गुल्जार गर्नु भन्ने तानसेनका महाजन व्यापारी नेवारहरू मणिराज, मेहखान, साधुराम, मनिरत्न, तेजनारायण, चुकढीदेवी, नरसिंह (समर नरसिंह) आदिको नाममा भएको लालमोहरले नेवार हरूको स्थायी बसोबासको थालनीहुन गएको देखिन्छ (नेपाली, २०२२, पृष्ठ २१५) ।

यसैगरी पाल्पा तानसेनमा रहेको श्रेष्ठ गुठीको वि. सं. १९१६ सालको गुठी बन्देज सवालको ढड्डामा नेपाल तीन शहर काठमाडौं, पाटन र भक्तपुरबाट व्यापारको सिलसिलामा केही पुस्ता बोडे थिमी शहरमा बसोबास गर्दै आएका थिए । ती नेपाल तीन शहर काठमाडौं, पाटन र भक्तपुरबाट व्यापार गर्न गएकाहरूको दर सन्तानहरू हाल पाल्पा, तानसेन, बुटवलमा गृहस्थाश्रम गरी बसेका भन्ने उल्लिखित अभिलेखको शिरबोलले नेवारहरू सेनकालीन पाल्पाराज्य नेपाल अधिराज्यमा विलय हुनुपूर्वदेखि नै पाल्पामा बसोबास गरिआएको देखिन्छ । वि.सं. १९५३ सालको पाल्पा सर्पट महाजाँच गोश्वारा तेरिजमा खड् लुक पाला साबिकको भैरवस्थान गा.वि.स. मा नेवारहरूका घरधुरी र जग्गाकोस्वामित्वको नाम उल्लेख छ । यस तेरिजबाट पाल्पामा सेनकालदेखि नेवारहरूको आगमन भएको देखिन्छ । सेन राज्यको स्थापनापूर्व रैथाने मगर जातिहरूको मगरात राज्य रहेको यस थलोमा काठमाडौं खाल्डाबाट आएका नेवारहरूले आफ्नो भाषा, आफ्नो भेष, खानपान, रीति-रिवाज र संस्कृतिलाई जोगाउँदै आफ्नो पहिचानलाई कायम राख्दै आजसम्म बसोबास गर्दै आउनु नेवार जातिमा रहेको मिलनसारिता जस्तो अन्तर्निहित गुणलाई नकार्न सकिँदैन ।

सन्दर्भ पुस्तकहरू:

योगी (नाथनरहरि), इतिहासप्रकाशमा सन्धिपत्रसंग्रह, दाङ्ग आध्यात्मिक सम्मेलनमा प्रकाशित, वि.सं. २०२२ ।

नेपाली, चित्तरञ्जन, जनरल भीमसेन थापा र तत्कालीन नेपाल, रत्न पुस्तक भण्डार, नेपाल, वि.सं. २०२२ ।

पाँडे, सरदार भीमबहादुर त्यस बखतको नेपाल, राणाकालीन आखिरी तीन दशक, भाग-१, वि.सं. २०४४ ।

लम्साल, देवीप्रसाद, भाषा वंशावली द्वितीय भाग, श्री

५को सरकार शिक्षा मन्त्रालय पुरातत्व विभाग, नेपाल राष्ट्रिय पुस्तकालय, २०२३ ।

Ane Haaland, Bhaktapur a town changing, Bhaktapur Development Project. A.D. 1985

Blaikie Piers and ed., Nepal in Crisis, Clarendon Press. Oxford, A.D. 1980

Source: Chinari by Tansen Guthi, 2072
Photo: Akrist Shakya

Leave a Reply

Sign Up for Our Newsletters

Get notified of the best deals on our WordPress themes.

You May Also Like

Mul Dhoka

The Mul Dhoka (Main Gate) or Baggi Dhoka (gate for horse drawn carriage), as the locals call it is probably the only one of this size and dimension in Nepal.…
View Post

श्री ७ सूर्यविनायक गणेश, टक्सार

दिल बहादुर शाक्यतानसेन,पाल्पा ऐतिहासिक तथ्य मन्दिर निर्माण र ठूलो घण्टगणेशको स्थापना गरिएपछि खरको छाना राखेर सानी मन्दिरको रूप दिइयो । त्यस मन्दिर निमाणर्को करिब ४३-४४ वर्षपछि शाक्य संवत् १७७५ नेपाल…
View Post