श्री डोलेश्वर महादेव केदारनाथ धाम

Total
0
Shares

शुभ श्रेष्ठ

तानसेन गुठीद्वारा आयोजना गरिने तीर्थयात्रा यही माघ २४ गते शनिबारमा डोलेश्वर महादेव र इन्द्रेश्वर पनौतीमा जाने भएका कार्यक्रममा मैले पनि भाग लिन पाउँदा खुसी लाग्नु स्वभाविक हो । यस कार्यक्रममा गुठी अध्यक्ष अनुप कक्षपती लगायत जम्मा ५७ जनाको सहभागिता रहेको थियो पहिलाको बसमा धेरै भाइहरु थिए भने पछिल्लो बसमा पमी श्रेष्ठ, शान्ता शाक्य लगायत हामी धेरै महिला सहभागीहरु थियौं । धेरै नै रमाइलोका साथ हाम्रो यात्रा भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर हुँदै डोलेश्वर महादेवतर्फ लाग्यो । जाडोको महिना भए पनि प्रकृतिले साथ दिएकोले अत्यन्त रमाइलो गर्दै हामी डोलेश्वर महादेवको मन्दिर नजिकै बसबाट ओर्लिएर मन्दिरतर्फ लाग्यौं जति नजिक लाग्यौं त्यति त्यति अहोरात्र पूजापाठ गरिने भएकाले त्यहाँको शंख, घण्टीको आवाज मन्दिर परिसरको हिन्दुहरूको सनातन वैदिक धर्मको आभास भयो।

हामी पनि लाइनमा बसेर डोलेश्वर महादेव केदारनाथ धामको दर्शन गरेर फर्कियौं । डोलेश्वर महादेव र केदारनाथ धामको विषयमा हामीलाई पनि त्यति विस्तृत जानकारी थिएन । त्यहाँको सानो पुस्तिका “केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण” तथा विकास समितिले प्रकाशित गरेको सानो पुस्तिका मेरो हातमा पन्यो । त्यो पुस्तिकाको आधारमा मैले प्राप्त गरेको जानकारी पाठक वर्ग समक्ष पुऱ्याउने यो यात्रा संस्मरण मार्फत प्रयास गरेको छु ।

श्री डोलेश्वर महादेवको संक्षिप्त परिचय:

यो मन्दिर भक्तपुर जिल्लामा पर्दछ । काठमाडौं उपत्यकाको भक्तपुर नगरको आग्नेय कोणमा अवस्थित रहेको यो डोलेश्वर महादेवलाई नेपाल भाषा (नेवारी) मा “सिपारे माघो” भनिन्छ भने यस डोलेश्वर महादेवलाई हिमवतखण्डमा विमलेश्वर महादेव भनी उल्लेख भएको पाइन्छ । श्री डोलेश्वर महादेवको नाम भौगोलिक अवस्थाको अध्ययन गरेर मात्र नामकरण भएको अनुमान लगाउन सकिन्छ । ढोला शिखरपर्वत श्रृंखलाको दक्षिण भागमा डोला परेको पहाडको काखमा अवस्थित यो शिवलिङ्गलाई प्राचीनकालमा यो नामले पुकारिन्थ्यो भन्ने कुरा अनुमानको आधारमा भन्न सकिदैन । यसको विषयमा अध्ययन गर्दा यो शिवलिङ्गको उत्पत्ति द्वापर युगको अन्त र कलियुगको प्रारम्भ कालमा भएको हुँदा र पाण्डवहरुले समेत तीर्थाटन गरिएको यस शिवलिङ्गको नाउ श्री केदारनाथजीको नाउँसँग जुटने हुन सक्थ्यो भन्ने सम्म मात्र अनुमान लगाउन सकिन्छ । कालान्तरमा यहीं शिवालयको नाउँ “डोलेश्वर रहेको कुराको प्रमाण छ यसै मन्दिर परिसरमा रहेको विकम सम्वत १६२९ को राजा भूपतीन्द्र मल्लले स्थापित गरेको शिलालेखबाट त्यस समयभन्दा पहिले देखिन “डोलेश्वर” को नाउँले चिनिने रहेछ भन्ने कुरा यसले प्रमाणित गर्दछ ।

नेपाल भाषा (नेवार) मा शिवलिङ्गलाई “सि” भन्ने गरिन्छ । त्यसैबाट “सिपारे माद्यो” भन्ने गरिएबाट “डोलेश्वर” र “सिपारे” को आ-आफ्नो भाषाद्वारा सम्बोधित भएको देखिन्छ तर क्षेत्रको नाउँमा रहेको दुवै भाषाको शब्द संयुक्त रूपमा प्रयोग भई सिपा तथा डोल अर्थात् सिपाडोल भनी क्षेत्रको नाउँ रहेको कारणले गर्दा डोलेश्वर र सिपारे दुबै नाम यस शिवलिङ्गका लागि प्रयोग हुँदै आएको स्पष्ट देखिन्छ।

हुनत डोलेश्वर महादेवको ऐतिहासिक पृष्ठभूमिको अध्ययन गर्दा धेरै प्रमाणिक विषय वस्तुहरु भेटिएका छन् । नेपाल मण्डलको लिच्छवी तथा मल्ल राजाहरूले डोलेश्वर महादेवको मन्दिर छानायुक्त (प्योगोडा शैली) तीनतल्ले मन्दिर बनाएता पनि हालको मन्दिर “ग़मीज” शैलीको देखिन्छ महाभारतकालीन पाण्डवहरू पनि डोलेश्वर महादेवको दर्शन गर्न आएका थिए भन्ने प्रमाण पौखेलबाट पूर्वतर्फ रहेको पाण्डव ढुङ्गाले प्रमाणित गर्दछ । वर्तमान सयमसम्म पनि यस डोलेश्वर महादेवलाई विमलेश्वर, सिपारे माद्यो र डोलेश्वर भन्ने गरिन्छ, यसका साथै २०६६ साल भाद्र ६ गते यस डोलेश्वर महादेवलाई केदारनाथजीको शिरभाग भन्ने घोषणा भैसके पछि, केदारनाथ जी पनि भन्ने गरिएको छ । सबभन्दा महत्त्वपूर्ण करा बाह ज्योर्तिलिङ्गमध्येमा भारतको उत्तराखण्डमा अवस्थित केदारनाथ महादेवको शिरो भाग पाशुपत क्षेत्र काठमाडौं उपत्यका अन्तर्गत भक्तपुर जिल्लाको सिपाडोलमा डोलेश्वर महादेवको रूपमा रहनु भएको छ।

यहाँ महाभारतसँग सम्बन्धित सानो प्रसंग छ । पाण्डव अर्जुन पुत्र अभिमन्यूका छोरा परिक्षित महाराजलाई राज्यको जिम्मा लगाई स्वर्गारोहणको लागि उत्तरा खण्डको यात्रा गर्दै जाँदा केदारनाथको दर्शन गर्ने इच्छा प्रकट गर्दा स्वजन हत्या गरी आएकाले पापी पाण्डवहरुलाई वन विहार गर्न लागेको पाण्डवहरूले थाहा पाएर त्यही रूपको पनि दर्शन गर्न जाँदा उनीहरुले पुच्छर समातेर तान्दा भगवान्‌को आफ्नो शिर भाग तीन टुक्रा बनाई अन्तर्ध्यान हुनुभयो शिर धाड र पुच्छर तीन टुक्रामध्ये ढाड त्यही ठाउँमा रहेको र भीमसेनको हातमा रहेका पुच्छर समेत अन्य ठाउँमा पछारिन पुग्दा पाण्डवहरु भयभित भएर भगवान्को आराधना, प्राथना गर्न थाले यसै बीच एउटा आकाशवाणी भयो साँच्चै तिमीहरूले मेरो दर्शन गर्न आएका हौ भने नेपालमा दर्शन गर्न जाऊ । त्यस पछि पाण्डवहरूपूर्व तर्फको यात्रा गर्ने निश्चय गरे । उक्त कुरा शिवपुराण र महाभारतको स्वर्गारोहण पर्वमा स्पष्ट रूपले उल्लेख गरेको पाइन्छ।

एउटा अचम्मको कुरा के भने साक्षात् रूपमा श्री डोलेश्वर महादेवको दर्शन गर्दा अरु शिवलिङ्ग भन्दा प्राकृतिक रूपमा नै फरक देखिन्छ, साच्चै नै भौगोलिक स्थितिले हेर्दा पनि श्री डोलेश्वर महादेवको लिङ्ग आग्नेय कोणमा ढल्किएको स्पष्ट देखिन्छ ।

हाल आएर हिमताकेदार वैराग्य सिहासनधीश्वर रावल पदवी विभूषित श्री श्री श्री १००८ जगत् गुरु भीमाशंकर लिङ्ग शिवाचार्य महास्वामीज्यूबाट २०६६ साल भाद्र ६ गते तद्नुसार अगस्त २२, २००४ मा केदारनाथ शिरोभाग, डोलेश्वर महादेव भएको विधिवत् घोषणा भएपछि विश्वमा रहेको १ अरब २० करोड हिन्दुहरुमा भएको भ्रम शंका निवारण भएको छ । शिव पुराणमा (उत्तराखण्डमा जुन रूपमा म छु त्यही रूपमा म नेपालमा पनि रहने छु) भनिएको छ ।

ज्योर्तिलिङ्ग केदारनाथमा शरीर मात्रको दर्शन हुने सो को दर्शन पछि शिरो भाग डोलेश्वरको दर्शन पूजा आराधना गर्ने र त्यस पछि आदि ज्योर्तिलिङ्ग श्री पशुपतिनाथको दर्शन तथा आराधना जीवनको सार्थकताको लागि अत्यावश्यक हुन्छ ।

केदारनाथको शिर घोषणा गरिनुका कारण तथा प्रमाण:

  1. युधिष्ठिरको उनान्सियौं श्राध्दको दिनमा भारतगढवालका १७ सय गाउँको आम्दानीबाट पूजा अर्चना हुने गरी युधिष्ठिरका पनाति राजा जन्मजयद्वारा गुठी स्थापना गरेको प्रमाण उत्तराञ्चल श्री केदारनाथको प्रशासनिक स्थल उखी मठमा सुरक्षित छ ।
  2.  सोही समयदेखि श्री केदारनाथको शिर मानी गुठी स्थापित गरी वीरशैव मठका लिङ्गायत जङ्गम ब्राहमणद्वारा पूजा अर्चना गरेको छ । हालसम्म पनि पूजाको व्यवस्था भक्तपुरस्थित रावल मठद्वारा गरिएको छ । 
  3. गडवाल नेपालको अधिनमा रहेको समयमा नेपाल स्थित भक्तपुरको रावल मठद्वारा प्रशासनिक व्यवस्था गरी १५० वर्षसम्म भारत उत्तराञ्तलका श्री केदारनाथको पूजा गराएको प्रमाण भेटिएको छ ।
  4. भारत उत्तरातलका श्री केदारनाथजीको प्रशासन सञ्चालन हुदै उखी मठका प्रमुखलाई पनि रावल पद्वीबाट विभूषित गरिने चलन रहेको छ भने भक्तपुर जङ्गम मठका मठाधीशलाई पनि (रावल) पदवीले विभूषित गर्ने चलन रहे भएको कारणले पनि यी दुवै मठ समान प्रकृतिका देखिएका छन् । साथै श्री केदारनाथजीको र श्री डोलेश्वर महादेवको पूजा अर्चना वीरशैव वंशका शैवब्राहमणले गर्ने गरेको हुँदा पनि यी दुवै पीठमा समानता कायम देखिएको छ । 
  5. श्री केदारनाथको स्वयम्भू लिङ्गको आकार, प्रकार, उचाइ, मोटाइ र लिङ्गको स्वस्पो डोलेश्वर महादेवको लिङ्ग मिल्दा जुल्दो रहेको छ । साथै शिव पुराणमा पनि भनिएको छ. “म केदारनाथको धाममा जुन रूपमा रहन्छु नेपालमा पनि म त्यहीं रूपमा रहने हूँ” भनिएबाट पनि केदारनाथजीको शिर भाग श्री डोलेश्वर महादेव नै रहेको प्रमाणित हुन्छ।
  6. भारत उत्तराञ्चलको श्री केदारनाथजी वायव्य कोणमा रहेको र श्री डोलेश्वर महादेव आग्नेय कोणमा अवस्थित रहेको भौगोलिक स्थितिलाई विचार गर्दा पनि श्री डोलेश्वर महादेवको लिङ्ग आग्नेय कोणमा ढल्किएको छ । यसरी वैज्ञानिक दृष्टिले पनि छुट्टिएर आउँदा आग्नेय कोणमा नै ढल्किनु पर्ने ठिकै देखिएको छ ।

श्री डोलेश्वर महादेव केदारनाथ धाम घोषणा:

विक्रम संवत् २०७० साल आषाढ २ गते भारत उत्तराञ्चल लगायत नेपालको सुदूर पश्चिममा प्राकृतिक प्रकोप (भीषण बाढी) भई भारत उत्तराञ्चलमा रहेको श्री केदारनाथजीको पूजा खण्डित हुनगयो। यसरी श्रीको पूजा खण्डित भए पछि केदारनाथजीको पूजा पद्धति अनुसार केदारनाथजीको शिरभाग डोलेश्वर महादेवमा पूजा सञ्चालन गर्नु भन्ने केदारपीठाधिश्वर जगत् गुरु श्री १००८ भिमाशंकर लिङ्ग शिवाचार्यजीको आज्ञानुसार यही २०७० साल आषाढ २२ गते “श्री डोलेश्वर महादेव केदारनाथ धाम पूजा आरम्भ विशेष (क्षमा पूजा) कार्यक्रम गरी सोही दिनदेखि श्री डोलेश्वर महादेव केदारनाथ धाम घोषित भई केदारनाथजीको पूजा पद्धति अनुसार त्रिकाल पूजा संञ्चालन भएको छ।

पहिला र अहिले श्री डोलेश्वरको मन्दिरमा जाँदा धेरै फरक लाग्यो। पहिले जाँदा त्यहाँ धुनी जगाएर बाबाजी बसेको देखिएन तर अहिले जाँदा धुनी जगाएर एकजना बाबाजी पनि बसेको देखिन्छ, त्यस्तै त्यो नजिकको घरको तल्लो भागमा पूजाआजा गरेर बस्ने बाबाजीहरूको उपस्थिति देखिन्छ।

यो डोलेश्वर महादेवको मन्दिर गुमेज आकारको सेतो मन्दिरको चारैतिर पहेँलो र रातो भल्लर लगाएको हुनाले अत्यन्त शोभायमान देखिन्छ मन्दिरको टुप्पो भागमा राखिएको त्यो शान्तिको ध्वजा फहराएको देख्दा मन अत्यन्त हर्षित हुन्छ । श्री डोलेश्वर महादेवको मन्दिरको आग्रभागमा नन्दीको मूर्ति छ, त्यहाँ धेरै जसो भक्तजनहरूले नन्दीको कानमा गएर कानेखुशी गर्दै बरदान मागेको या शिवलाई सन्देश पठाएको जस्तो देख्दा अर्कै आनन्दको अनुभूति हुने छ । कस्तो विश्वास र आस्था छ, आ-आफ्ना बच्चाहरुलाई आमा-बुबाहरूले कुरा सिकाउँदै नन्दीको कानमा गर्न पठाएको सन्देश पनि हेर्न लायककै हुँदो रहेछ ।

ठूलाठूला पहाडको मध्य भागमा रहेको डोलेश्वर महादेवको मन्दिर परिसरबाट हेर्दा प्राकृतिक हरिया डाँडाहरूले अत्यन्त शोभामयमा देखिन्छ त्यो स्वेत मन्दिर । त्यहाँ राखिएको त्रिशूल, घण्टहरूले पनि मन्दिर र साँच्चै जहाँ पनि महादेवको मन्दिरहरू यस्तै हुन्छन्, जस्तै पशुपतिनाथ, गोरखनाथ, बुटवल सिद्धबाबाको झझल्को आउँछ । 

श्री डोलेश्वर महादेव मन्दिर परिसरको प्रस्तावित गुरुयोजना नमुना अति सुन्दर तरिकाले तयार पारिएको छ, त्यो गुरुयोजना अति शीघ्र तयार होस् भन्ने शुभकामनाका साथ यो यात्रा सस्मरणलाई विश्राम दिन्छु ।

सन्दर्भ सुचि केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समिति सिपाडोल समिति सिपाडोल गा वि स बड़ा न. ६ भक्तपुर ।

This article was originally published in Tansen Guthi Annual Publication 2072
Source: www.tansenguthi.org

Leave a Reply

Sign Up for Our Newsletters

Get notified of the best deals on our WordPress themes.

You May Also Like

UNESCO Heritage Sites

The Kathmandu Valley is a treasure trove of Nepalese culture, and an important side of that culture is its architectural heritage which is represented in the numerous monuments included and preserved within the seven monument zones in the Kathmandu Valley World Heritage Site.
View Post

चैनपुरका नेवारहरूको धार्मिक तथा सांस्कृतिक परम्परा

दुर्गा प्रसाद शाक्य अध्यक्ष, चैनपुर शाक्य समाज नेपालको पूर्वाञ्चल क्षेत्रको १६ जिल्लामध्येको एउटा दुर्गम जिल्ला संखुवासभा हो । यस जिल्लाको पूर्वमा ताप्लेजुङ्ग जिल्ला, पश्चिममा सोलुखुम्बु जिल्ला, उत्तरमा चीनको तिब्बत, दक्षिण…
View Post