आकाश छुने सांस्कृतिक धरोहर पाँच तल्ले मन्दिर

Total
0
Shares

आजभन्दा तीन सय तेरह वर्ष अगाडि बनेको एउटा मन्दिर आज पनि आफ्नै मौलिक वास्तुकला एवं स्वरुपको कारण बिश्वव प्रसिद्ध बनिरहेको छ भन्दा अचम्म लाग्न सक्छ। भक्तपुरको टौमढी क्षेत्रमा यत्रो वर्ष अगाडिदेखि स्थापित विश्व प्रसिद्ध पाँच तल्ले मन्दिर आज पनि उदाहरणीय बनेको छ । २०७२ साल वैशाख १२ गते पछि यो मन्दिर सबैको नजरमा अझ उदाहरण नै बन्न पुगेको छ। वि.स. १७५९ मा तत्कालीन कलाप्रेमी राजा भूपतिन्द्र मल्लले बनाउन लगाएको यो मन्दिर मात्र ६ महिनामा बनेको भन्दा अर्को आश्चर्य मान्नुपर्ने हुन्छ । मल्लकालमा काठमाडौं उपत्यकाका तीन मल्लराजाहरुबीच हरेक क्षेत्रमा प्रतिस्पर्धाको भावना रहदाको एक ज्वलन्त नमुना बनेको यो मन्दिर मार्फत भक्तपुरले गर्व गर्नपाएको थियो । विशेष गरी कान्तिपुरसँग मनमुटाब रहेको अवस्थामा यो मन्दिरको प्रसिद्धि र चर्चाबाट कान्तिपुर चिढिएको थियो । मन्दिर सम्पन्न भएको अवसरमा गरिएको भव्य सिद्धाग्नी कोत्याहुतीमा कान्तिपुर बाहेक उपत्यका र वरिपरिका सबैको उपस्थिति रहेकोबाट भक्तपुरसँग कान्तिपुर चिढिएको प्रष्ट हुन्छ । त्यस समयमा भक्तपुरको पाटनसँग घनिष्ट सम्बन्ध रहेको तथ्य तत्कालीन समयका पाटनका राजा कयौं पटक हात्ती चढी मन्दिरको निरीक्षण गरेबाट पनि स्पष्ट हुन्छ।

इतिहास बोकेको मन्दिर

काठमाडौं उपत्यका अझ नेपालमै बनेका सम्पदाहरुमध्ये पाँचतल्ले मन्दिर मात्र त्यस्तो उदाहरणीय सम्पदा बनेको छ । जुन मन्दिर स्थापनादेखि सम्पन्न सम्मका एक घटनाहरु लिखित रुपमा उतारिएको छ । भूपतिन्द्र मल्ल त्यस्तो इतिहासप्रति सचेत राजाको रूपमा देखा परे जसले पाँच तल्ले मन्दिर लगायत आफ्ना छोरा रणजित मल्लको विवाह सम्बन्धी सम्पूर्ण विवरण धरपौमा सुरक्षित राखिएको थियो । यता पाँच तल्ले मन्दिरको निर्माण पूर्व आवश्यक सामग्रीहरु कसरी कहाँबाट जुट्टाएको, मन्दिरको जगदेखि गजुर स्थापना सम्मका सम्पूर्ण गतिविधिहरू लेखिएको धरपौलाई प्रकाशमा ल्याउने काम डा. जनकलाल बैद्यले गर्नु भएको हो। राष्ट्रिय अभिलेखालय भित्र ढुसी परी कुहिन लागेको पाण्डुलिपिहरुबीच अनेकौं समस्याको बाजुद संग्रह गरिएको उक्त धरपौले नेपालको इतिहासमा पाँच तल्ले मन्दिर एउटा कोसे ढुड्डा बनेको छ।

उक्त पाण्डुलिपि अनुसार सर्वप्रथम ने सं ८२२ कार्तिक सुदि तृतीयाको दिन रुख ढाल्न पठाइयो । त्यस पछि पौष कृष्ण द्वादशीको दिन भूमि सोधन पूजा गरिएको थियो । त्यसको ५४ दिन मै पाँच वटा विशाल पेटीहरु तयार भई सकेको थियो । त्यस पछि फाल्गुण कृष्ण पष्ठीको दिन मूल द्वार स्थापना गरिएको र त्यसको पाँच दिन मै निदाल (विम राखेको थियो। त्यसको बाइसौ दिनमा पहिलो तल्ला सकी दोश्रो तल्लाको लागि झ्याल राखियो । त्यस पछि क्रमश चार चार दिनको फरकमा पाँचौ तल्ला बनाउने काम सके पछि चैत्र कृष्ण औंसीको दिन गजूर राख्न काठको चुली राखियो । त्यस पछि पाँचौ तल्लादेखि झिंगटी छाउने काम सुरु भयो र पाँच तल्ला झिंगटी छाउन दश दिन लाग्यो । यसरी युद्ध स्तरमा तयार भएको यो मन्दिरले नेपालको वास्तुकला, काष्ठकला, मूर्तिकला, जस्ता हरेक क्षेत्रमा अमिट छाप पार्न सफल भएको देखिन्छ। भनिन्छ भूमि सोधन कार्यमा तत्कालिन राजा भूपतिन्द्र मल्ल आफैले तीन वटा इट्टा बोकी सुरु गरेको कार्यमा भक्तपुर, पाटन, सात गाउँ (बनेपा, पनौती, धुलिखेल, श्रीखण्डपुर, साङ्गगा, नाला र चौकोट) लगायत नगदेश, थिमी, बोडे, र भक्तपुर अन्तर्गत पर्ने अरु गाउँहरूबाट थुप्रै व्यक्तिहरुले समेत भाग लिएको तथ्य मन्दिर समापन कार्यमा बनेपाका १२५७, नालाका ६२२, पनौतीका ७६६, धुलिखेलका ३७४, साङ्गगा ४३९, नगदेशका २६१, थिमीका २१२७, खस गाउँका २८४ गरी भक्तपुरकै ४००१, सिपाही १०९०, ज्यामी ३८०१, ब्राम्हण पुजारी ५०० गरी करिब २०००० व्यक्तिहरुले भोज खाएको तथ्यबाट पनि स्पष्ट हुन्छ ।

तान्त्रिक युगको प्रतिनिधित्व

पाँचतल्ले मन्दिर बाहिरबाट हेर्दा एउटा मन्दिर मात्र देखिए पनि यस भित्र तान्त्रिक शक्तिकी देवी सिद्धिलक्ष्मी स्थापना गरिएको तथ्य महत्वपूर्ण छ। सिद्धिलक्ष्मीलाई तन्त्र शास्वले पश्चिचमाम्नाय मतकी देवीको रुपमा लिएपनि तन्त्रले यस देवीलाई सर्वम्नायी रुपमा लिने गरेको छ । सबै देव देवीकी आराध्य देवी सिद्धिलक्ष्मीको स्थापनाताका भक्तपुर सहर चरम तान्त्रिक युगमा थियो भन्ने स्पष्ट हुन्छ। यस मन्दिर भित्र स्थापना गरिएको मुख्य देवी र अन्य अनेकौ प्रतिकात्मक मूर्तिहरु, तोरण, टुडाल, भ्याल, छाना, पेटी, विभिन्न जीवजन्तु तथा पशुपन्छीहरु, गजूर, खुड्किला दलिन लगायत हरेक वस्तु तन्त्रसंग सम्बन्धित देखिन्छ । यस मन्दिरमा पाँच छाना, पाँच पेटी, पाँच गणेश, पाँच सुरक्षा रूपी बाहनहरु, तेत्तिस वटा खुड्किलाहरू, एक सय आठ वटा टुंडालहरु, तिन सय साठी बटा दलिनहरु जस्ता यस मन्दिरमा प्रयोग गरिएका विभिन्न संख्याहरुको पछाडि तान्त्रिक मत लुकेको छ । त्यस्तै मानिस भन्दा क्रमशः दश दश गुणाले शक्तिवान् पहलमान्, हात्ती, सिंह, शादुल, देवीको मूर्ति पछि मात्र सिद्धिलक्ष्मी देवी रहनुको पछाडि यस देवीको शक्ति प्रष्ट हुन आउँछ । मन्दिरको गर्भगृहमा स्थापित उक्त देवी हेर्दैमा भयानक आकृत्तिकी छन् । दायाँ बायाँ महाकाल भैरव र मसान भैरव राखी बीचमा बसेकी देवीको नौ मुख र अट्ठार हातकी छन् । बेताल माथि आसन गरिबसेको भैरवको काँधमा खट्टा राखी उभिएको देवी तान्त्रिक मत अनुसार स्थापना गरिएको हुँदा सर्व-साधारणलाई दर्शनको लागि खुल्ला छैन । बरु मन्दिरको मूल ढोका माथि राखिएको कलात्मक तोरणमा कुदिएको अठार हाते महिषमर्दिनी भगवती नै गर्भगृहमा राखिएको सिद्धिलक्ष्मीको प्रतिमूर्तिको रुपमा लिने गर्दछ । त्यस बाहेक मन्दिरको पाँचौ तल्लासम्म ठाउँ-ठाउँमा कुदिएको विभिन्न हातहतियार समेतका भैरवका गणहरु, अनेको देवदेवीहरु अस्वाभाविक आकृतिका जनावर तथा पशुपन्छीहरुका कलात्मक मूर्तिहरु पछाडि तान्त्रिक युगको प्रभाव परेको स्पष्ट हुन्छ ।

नेपालकै वास्तुकलाको शान

भक्तपुर टौमढी टोलमा रहेको विश्व प्रशिद्ध पाँच तल्ले मन्दिर हरेक दृष्टिकोणले महत्वपूर्ण छ । यो मन्दिर छाने शैलीका नेपालका मन्दिरहरुमा अग्लो अनि नमुना नै मानिन्छ। वि.स. १७५८ कार्तिकबाट सुरु गरी वि.स. १७५९ जेठ भित्र बनाइसकेको यो मन्दिर वास्तुशास्त्र बमोजिम निर्माण भएको मानिन्छ । वास्तुशास्त्र भित्र मन्दिरको छुट्टै वास्तुशास्त्रको व्यवस्था भए अनुसार देग दानेया विधि जस्ता ग्रन्थका साथसाथै नाप नक्शा विधि समेत अपनाएको देखिन्छ । त्यस मध्ये पनि नक्सा कुनै पनि वास्तु अर्थात् मन्दिर बनाउन आवश्यक पूर्वाधार हो । यसै क्रममा पाँचतल्ले मन्दिरको रेखा चित्रानुसार नक्सा एउटा महत्वपूर्ण प्रविधि ठहरिन आउँछ । जर्मनीका अन्वेषक प्रा.डा. बर्नहार्ड कोल्भरले कन्स्ट्रक्टिङ्ग टु प्यागोडाज आर्कटिगट ट्रेडिशनल नेप्लिज ड्राइङस नामक पुस्तकमा ५ तल्ले मन्दिरको नक्सा प्रकाशित गरे यता यसको व्यापक अध्ययन अनुसन्धान हुन सकेको छैन । जसमा नेवारी अक्षरमा मन्दिरको गजुरदेखि पाँच तल्लाको (पेटी बाहेक) विभिन्न अंगको नाम नाप तथा अन्य विवरण उल्लेख छ । जहाँ वास्तुशास्त्रको सिद्धान्तलाई सचित्र’ साथ व्याख्या गरेको छ । तर एउटा दुःखको कुरा उक्त पुस्तकमा पाँच तल्ले मन्दिरको माथिल्लो आधा भागको मात्र नक्शा दिइएको छ। पेटीदेखि जमिन सम्मको भागको नक्शा दिइएको छैन । पाँचतल्ले मन्दिरको पूर्ण नक्शा भइदिएको भए विश्व प्रसिद्ध ५ तले मन्दिर आजको प्राविधिक युगको लागि उत्तम नमुना हुन्थ्यो पाँचतल्ले मन्दिरलाई शुद्ध नेपाली छाने शैलीको सबैभन्दा अग्लो मन्दिर मान्नु पर्दछ । जुन मन्दिर पाँचतल्ले भनिए पनि यसमा पाँच वटा तह पेटी र पाच तल्ला छाना गरी जमिनबाट दश तल्ला देखिन्छ । तर पाँच वटा छानालाई मात्र मध्येनजर गरी नेपाल भाषामा झतापोल भनिने यो मन्दिर बाहय भौतिक स्वरुपले नै आजसम्म चर्चित रहदै आएको छ। जसले गर्दा मन्दिर भित्र कुन देवता स्थापना गरिएको छ त्यो विषय समेत गौण बन्न पुगेको छ। यो देवलको आफ्नोपन हो । वास्तवमा दक्षिणाभिमुख यो मन्दिरका पाँचै तल्लाका छानाहरु समानुपातिक एवम स्थिर देखिन्छ। छानालाई सुहाउने तरिकाले यसमा पाँच वटा पेटीहरु छन् । जसले मन्दिरलाई आकर्षक बनाएको छ। अर्थात् मन्दिरको छाना र पेटीहरूको सन्तुलनले नै पाँचतल्ले मन्दिर यति विधि आकर्षक भएको हो । वास्तवमा भूपतिन्द्र मल्लले पाँचतल्ले मन्दिर बनाउनु पूर्व वास्तुशास्त्र मुत्ताविक नाप नक्शा बनाउन लगाएको कारण मन्दिर बनाउन आवश्यक इट्टा, झिगटी, झ्याल, ढोका, फ़यगा, दलिन, खापा, मेठ लगायतका निर्माण सामग्रीहरू अगाडि नै तयार पार्न सक्यो।

ठूला ठूला भूकम्पले सुरक्षित छन ५ तल्ले मन्दिर

नेपालमा बनेका विभिन्न सम्पदाहरुमध्ये आजसम्म जीवन्त मन्दिरमा सबैभन्दा अग्लो भक्तपुरको यही पाँचतल्ले मन्दिर हुन आउँछ । यति अग्लो मन्दिर बनाउन तत्कालीन राजा भूपतिन्द्र मल्ललाई के ले प्रेरणा दियो ? यो आजसम्म प्रकाशमा आउन सकेको छैन । नेपाल जस्तो भूकम्पको उच्च जोखिम क्षेत्रमा ५ तल्ले मन्दिर जस्तो वास्तु बनाउनु बुद्धिमत्तापूर्ण कार्य अवश्य मानिदैन । मल्लकालमा गएको महाभूकम्प यसका प्रमाणहरु हुन् । यता मल्लकालको पतन पछि वि.सं. १८६५ दशहराको दिन गएको भूकम्प होस, वि.सं. १८९१ भाद्र १२ गतेको भूकम्प होस् ५ तल्ले मन्दिर केही भएनन् । वि.स. १८६५ दशहराको महाविनाशकारी भूकम्पले काठमाडौं उपत्यकाका थुप्रै सांस्कृतिक सम्पदाहरु डलेका थिए। तर ५ तल्ले मन्दिर जस्तो अग्लो सम्पदा केही भएन । जतिबेला उक्त मन्दिरको आयु करिब ९४ वर्ष पुगिसकेको थियो । आजभन्दा ३१३ वर्ष पहिले बनेको यो मन्दिर वास्तु सम्मत भएकै कारण बलियो पनि छ । त्यस्तै वि.सं. १८९१ सालको भूकम्पमा पनि यो मन्दिर केही भएन । यसबेला ५ तल्ले मन्दिरको आयु १३४ वर्ष पुगिसकेको थियो। यत्रो वर्ष पुरानो त्यतिबेलाको पाँच तल्ले मन्दिर ज्युका त्युं रह यो । नेपाल जस्तो भूकम्पकीय क्षेत्रमा ठडिएको पाँचतल्ले मन्दिर वि. स. १९९० सालको महाभूकम्पमा परी केही क्षतिग्रस्त हुन पुग्यो । जतिबेला पाँच तल्ले मन्दिरको आयु २३३ बर्ष पुगिसकेको थियो । टौमढी टोलसँगै रहेका ३ तल्ले भैरवनाथको मन्दिर जगै देखि भत्कनु र पाँच तल्ले मन्दिर केही क्षति भएको बारे एउटा प्रचलित कहावत छ “डातापोल छतामरु भैल देग पतामरु” अर्थात पाँच तल्ले मन्दिरको एक तल्ला छैन भैरवनाथ मन्दिर अत्तापत्ता छैन। भैरवनाथ मन्दिर भन्दा २ गुण अग्लो पाँचतल्ले मन्दिरको मथिल्लो एक तल्ला मात्र भत्कनु तर भैरवनाथ मन्दिर जगैसम्म भत्कनुबाट यहाँ दुइटा मन्दिरको प्राविधिक क्षमतालाई मुल्याङ्कन गर्न सकिन्छ। २३३ वर्ष पुरानो त्यत्रो अग्लो मन्दिरको माथिल्लो एक तल्ला भत्कनु प्राविधिक हिसाबले मन्दिर अत्यन्त बलियो भएको पुष्टि हुन्छ। अझ २०४५ र २०६८ सालको भूकम्पमा समेत एउटा इट्टा नखस्नु बाट ५ तले मन्दिर कति बलियो ढंगले बनाएको होला अनुमान गर्न सकिन्छ । यसै सन्दर्भमा हालसाले यही २०७२ साल वैशाख १२, १३ र २९ गते देशमा ठूलो विनाशकारी भूकम्प गएको छ । भक्तपुरको प्राचीन बस्तीको रूपमा चिनिने भक्तपुर नगर त ध्वस्त नै बनेको छ । भक्तपुर नगरको माथिल्लो बस्तीको सूर्यमढी, जैला, इनाचो, तचपाल, चोंचा, क़वाठण्दौ, गोल्मढी, ब्यासी, चासुखेल जस्ता ठाँउहरु त खण्डहरमा परिणत भएको छ। त्यस्तै नगरको तल्लो भेगको तौमढी, खेला लाकुलाछे जाँलाचा, तालाक्व, नासमना, देगमना, बोलाछे जस्ता टोलहरु पनि प्रायः ध्वस्त भएको छ । यसबाहेक भक्तपुर नगरको सम्पूर्ण भाग नै भूकम्पबाट क्षतिग्रस्त भएको छ। यसपटकको भूकम्पले भक्तपुरको प्रशस्त निजी घरहरू ढलिसकेका छन् । थुप्रै जीवनले सद्गति समेत पाए । थुप्रै धनजनको नाश भएको यो महाविनाशकारी भूकम्प भक्तपुरबासीले अब कहिल्यै नबिर्सिने भएको छ । निजी वास्तुका साथसाथै यहाँका असंख्य सांस्कृतिक सम्पदाहरु समेत यो भूकम्पबाट बच्न पाएनन् । ऐतिहासिक एवम् सांस्कृतिक नगरको सबैभन्दा महत्वले भरिएको भक्तपुर दरबार क्षेत्र हो । विश्व सम्पदा सूचिमा सूचिकृत यो क्षेत्रमा प्रशस्त महत्वपूर्ण सम्पदाहरू संरक्षित रहेकोमा यसपटकको भूकम्पबाट यस दरवार क्षेत्रका कयौं महत्त्वपूर्ण सम्पदा भत्केको छ । जसमा लोहदेगले चिनिने बत्सला मन्दिर, फसीदेगले चिनिने ताहादेग, चारधाम भित्रको एक केदारनाथ मन्दिर, त्रिविकम नारायण मन्दिरदेखि भक्तपुर दरबार क्षेत्र प्रवेशद्वार मानिने खौमा ढोका आज हाम्रो सामु छैन । भक्तपुर दरबार क्षेत्रकै नारायण मन्दिर, सिंहध्वाखा दरवार, थन्थु दरबार, लाल बैठक दरवार, थथु येटाचपली लगायतका प्रायः सम्पदाहरु क्षतिग्रस्त भएका छन् । यसबाहेक भक्तपुर नगरको पूर्वमा च्याम्हासिंहदेखि पश्चिममा भावाचीसम्मका अरु कयौं सम्पदाहरुमा क्षतिग्रस्त पुगेको छ । तर सबैभन्दा अग्लो ५ तले मन्दिर यद्यपि ठडिएकै छ । माथिल्लो तल्लाको छाना र गारो केही चकैको बाहेक अरु क्षति यो मन्दिरमा छैन । वास्तवमा ५ तल्ले मन्दिर जति धार्मिक, सांस्कृतिक अनि कलाकौशलले महत्त्वपूर्ण छ, अझ बढता प्राविधिक दृष्टिकोणले महत्वपूर्ण छ। जसबाट तत्कालीन समयका प्राविधिक ज्यामी, मजदुर ङकर्मी, सिकर्मी, लुँ कर्मी, टमो अत्यन्त सक्षम रहेको पुष्टि हुन्छ । ज्ञात अज्ञात ती सम्पूर्ण पुर्खाहरुप्रति हामी गर्व गछौं । यत्रो महत्वको मन्दिरले भक्तपुरको मात्र इज्जत हैन हाम्रो वास्तु शास्त्रकै महत्त्व अरु बढेको छ ।

श्रोत : तानसेन गुठी २०७२

ओम धौभडेल

Leave a Reply

Sign Up for Our Newsletters

Get notified of the best deals on our WordPress themes.

You May Also Like

Mul Dhoka

The Mul Dhoka (Main Gate) or Baggi Dhoka (gate for horse drawn carriage), as the locals call it is probably the only one of this size and dimension in Nepal.…
View Post

श्री ७ सूर्यविनायक गणेश, टक्सार

दिल बहादुर शाक्यतानसेन,पाल्पा ऐतिहासिक तथ्य मन्दिर निर्माण र ठूलो घण्टगणेशको स्थापना गरिएपछि खरको छाना राखेर सानी मन्दिरको रूप दिइयो । त्यस मन्दिर निमाणर्को करिब ४३-४४ वर्षपछि शाक्य संवत् १७७५ नेपाल…
View Post
Palpa Khayaha

पाल्पामा नेवारहरूको आगमन

निर्मल श्रेष्ठ नेवार भन्ने बित्तिकै मिलनसार, मिहिनेती र सरल मिजासका जातिको झझल्को मानस पटलमा आउने गर्छ । देख्दा फरासिला र हँसिला देखिने नेवारहरू मिहिनेती र मिलनसार पनि उत्ति नै हुन्छन्…
View Post